प्रक्रिया अघि बढाउने काँग्रेसको निर्णय

0

काठमाडौँ, २७ भदौ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले असन्तुष्ट दलहरु वार्तामा नआएपछि संविधान लेखनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले असन्तुष्ट दलले वार्तामा बस्न कुनै चासो नदेखाएको भन्दै संविधान लेखनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । प्रमुख तीन दलले सीमाङ्कनको विषयलाई लिएर तराईमा आन्दोलनरत असन्तुष्ट दललाई वार्तामा बस्नका लागि संविधान लेखन प्रक्रिया दुई दिन स्थगन गरेका थिए ।
काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेस केन्द्रित दलका नेता वार्तामा नआएकाले संविधान लेखनको प्रक्रिया अघि बढाउनुको विकल्प छैन भन्ने निष्कर्षमा काँग्रेस पुगेको बताउनुभयो । वार्ताका लागि दुई दिनको प्रतीक्षा गरे पनि असन्तुष्ट दलहरु नआएको बताउँदै उपसभापति पौडेलले भन्नुभयो – “देशलाई संविधान दिनुको विकल्प छैन, अब प्रक्रिया अघि बढ्छ ।”
जनताले जतिसक्यो छिटो संविधान चाहेको बताउँदै उहाँले सहमतिका लागि लचिलो भएर कुरा गर्दैै जाने र प्रक्रिया पनि सँगै अघि बढाउने निर्णय भएको जानकारी गराउनुभयो । यसअघि आजै प्रमुख तीन दलको बैठक बस्ने भने पनि मधेस केन्द्रित दलसँग वार्ता नभएका कारण सो बैठकसमेत हुन सकेन ।

Leave A Reply

Your email address will not be published.