प्रेस युनियन महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

0

काठमाडौं : नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदै छ । मकवानपुरको हेटौंडामा शुक्रबारदेखि शुरु भएको नवौं महाधिवेशन अन्तर्गत शनिबार मतदान हुन लागेको हो ।

चुनावी कार्यतालिका अनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मतादान हुने छ । 

युनियनको अध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा रहेका छन् । नेपाली कांग्रेसको संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापन इतर समूहबाट शिव लम्सालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यसैगरी अध्यक्षमा भुवन भट्टले पनि उम्मेदवारी दिएका छन् ।

युनियनमा एक उपाध्यक्ष र तीन जना सचिव निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् ।

थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका छन् ।

देशभरका ७७ जिल्लाबाट १ हजार ६ सय ५० जना प्रतिनिधिले मतदानमा भाग लिनेछन् । झन्डै ८ वर्षपछि हुन लागेको कांग्रेस निकट प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाअधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

Leave A Reply

Your email address will not be published.