कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, देउवामाथि दबाब बढाउने शेखर समूहको तयारी

0

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दैछ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पालिका चुनावको समीक्षा र आसन्न चुनावको तयारीका सम्बन्धमा छलफल गर्न सोमबार दिउँसो बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका हुन् । 

बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेश हुनेछ ।  

आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन् ।

त्यस्तै बैठकमा नेता शेखर कोइराला पक्षले सरकारको काम, कारबाहीबारे गम्भीर समिक्षा गर्ने एजेन्डा तय गरेको छ ।

आइतबार बसेको नेता कोइराला पक्षको बैठकले सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो । कोइराला पक्षले सरकारले ल्याएको बजेटमा पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

यस्तै पार्टी सभापति देउवाले पार्टीलाई विधिवत् रुपमा अघि बढाउन नसकेको कोइराला पक्षको आरोप छ । पार्टी सञ्चालनमा सभापति देउवाले एकलौटी गरेको भन्दै विरोध गर्दै आएको कोइराला समूहले यसपटकको केन्द्रीय समिति बैठकमा दबाब बढाउने भएको छ ।

१४औँ महाधिवेशनपछि ६ महिनामा गरिसक्नुपर्ने विधानबाट निर्देशित कामसमेत सभापति देउवाले पूरा गर्न नसकेको कोइराला समूहको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.