योग्यता नपुगेको व्यक्ति न्यायाधीश, न्याय परिषद्ले गर्‍यो बर्खास्त

0

काठमाडौं : उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका शाह बर्खास्त भएकी छन् । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

न्याय परिषद् बैठकले योग्यता नपुगेको कारण पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । उनी पुर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी हुन् । तर सीटीईभीटीमा २० वर्ष काम गरेकी शाहलाई २०७५ मा न्यायाधीश नियुक्त गरिएको थियो । त्यसैबेला पनि वकालत गरेको १० वर्षे अनुभव नभएको उजुरी परेको थियो । तर तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बलमा शाह न्यायाधीश नियुक्त भएकी थिइन् । 

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार, न्यायाधीश बन्न आवश्यक आधारभूत योग्यता समेत नभेटिएपछि शाहलाई बर्खास्त गरिएको हो । न्याय परिषद्ले रिक्त न्यायाधीश नियुक्तिका लागि सात दिने सूचना समेत जारी गर्ने निर्णय गरेको छ । निर्णयअनुसार, सोमबार न्यायाधीश नियुक्तिबारे सूचना प्रकाशित हुनेछ । 

१९ चैत २०७५ मा शाह न्यायाधीश नियुक्त भएकी थिइन् । उनीसँगै उच्च अदालतमा १८ र सर्वोच्च अदालतमा ५ न्यायाधीश नियुक्त गर्न सिफारिस भएका थिए । सिफारिसविरुद्ध परेको रिट भने सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । 

रिट निवेदन नै खारेज भएपछि तीन वर्षदेखि शाह न्यायाधीश थिइन् । जबकी सीटीईभीटीमा १० साउन २०५५ देखि काम गरेकी शाहसँग वकालतको अनुभव थिएन । 

न्यायाधीश बन्न आवश्यक योग्यता नभएपनि उनीसँग जबरा थिए । तर जबरा गएको १ फागुनमा निलम्बित भए । जबरा निलम्बित भएपछि शाह पनि बर्खास्त भएकी छन् । 

शाहसँग वकालतको अनुभव मागिएको थियो । तर सीटीईभीटीको जवाफले नै उनको पद नजोगिने प्रष्ट भयो । सीटीईभीटीले शाहको सेवा अवधि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहेको र त्यो बाहेकको समयमा कानून व्यावसायमा संलग्न हुन बाधा नरहेको जवाफ लेखेको थियो । 

त्यो भनेको कार्यालय समयभर शाहले वकालत गर्नै पाएनन् । तर पनि उनीविरुद्ध परेको उजुरी खारेज भएकाले बितेको तीन वर्ष शाह न्यायाधीश रहिन् । तर आवश्यक योग्यता देखाउन नसकेपछि भने उनी बर्खास्त भएकी छन् । उनलाई न्याय परिषद्को दफा २० बमोजिम योग्यता वा अयोग्यता लुकाएको आरोपमा न्यायाधीशबाट बर्खास्त गरिएको हो । 

Leave A Reply

Your email address will not be published.