आबेको निधनमा नेपालमा पनि राष्ट्रिय शोक

0

काठमाडौं : जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ । उहाँको निधनप्रति गहिरो दु:ख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ,’ मन्त्रिपरिषद्को निर्णयमा थप भनिएको छ ।

गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि शुक्रबार बिहान गोली प्रहार भएको थियो ।

आबेको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूले शोक जनाएका छन् ।

‘पूर्वप्रधानमन्त्री आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुःखद घडीमा जापानका जनता र शोक सन्तप्त परिवारजनसँग हाम्रो विचार र प्रार्थना छ ।’ प्रधानमन्त्री देउवाले ट्वीट गरेका छन् ।

Leave A Reply

Your email address will not be published.