चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आउने

0

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आगामी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । लिउ चार दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।

आगामी बुधबारसम्म यहाँ रहँदा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन् । भेटवार्ता मिलाउन परराष्ट्र मन्त्रालयले प्रमुख राजनीतिक दलसँग समन्वय गरिरहेको छ ।

नेपालमा रहँदा चिनियाँ नेताले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

लिउले गत जुन अन्तिम साता माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग अलग अलग भिडिओ वार्ता गरेका थिए।

उनले परराष्ट्रमन्त्री तथा कांग्रेस नेता नारायण खड्कासँग गतसाता मात्रै भिडिओ कुराकानी गरेका थिए । लिउ चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता हुन् ।

तत्कालीन विदेश विभाग प्रमुख सोङ् थाओको स्थानमा लिउ नियुक्त भएका हुन् । त्यसैले अब हुन लागेको उनको नेपाल भ्रमण परिचयात्मक भनिएको छ ।

Leave A Reply

Your email address will not be published.