निर्वाचन आयोगले प्रधानमन्त्री देउवालाई भेटेर संघ र प्रदेश निर्वाचनको मिति प्रस्ताव गर्दै

0

काठमाडौं : निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने भएको छ ।

संघ र प्रदेशको निर्वाचनको मिति प्रस्ताव गर्नका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सहितको टोलीले दिउँसो बालुवाटारमा देउवासँग भेट गर्न लागेको हो ।

मंगलबार नै आयोगको टोलीले प्रधानमन्त्री देउवासँग भेट गर्न खोजेको भएपनि सम्भव हुन सकेको थिएन ।

निर्वाचन आयोगले मंसिर दुई गते संघीय तथा प्रदेशसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने तयारी गरेको छ । आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्ने गरी सिफारिस तयार पारेको छ ।

निर्वाचन आयोगको टोलीको भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठकवाट आगामी निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ ।

निर्वाचनको १ सय २० दिन अर्थात चार महिना अघि मिति घोषणा हुनुपर्ने आयोगको भनाइ छ । आयोगले असार मसान्तभित्र सरकारबाट निर्वाचनको मिति घोषणाको अपेक्षा गरेको छ ।

एक सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा चुनाव गर्ने आयोगको तयारी छ ।

Leave A Reply

Your email address will not be published.