आयल निगमले सरकारलाई पठायो पत्र- तत्काल आर्थिक जोहो नगरे तेल किन्नै सकिँदैन

0

काठमाडौं : नेपाल आयल निगमले सरकारलाई पत्र लेख्दै आर्थिक संकटमा परेको जानकारी गराएको छ । 

विश्व बजारमा तेलको मूल्य लगातार बढिरहेकाले त्यसको भार निगमलाई परेको भन्दै तत्काल निकास दिन सरकारसँग आग्रह गरेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराउँदै निगमले आर्थिक जोहो गरिदिन आग्रह गरेको छ । 

तेलको खपत लगातार बढिरहेको, विश्व बजारमा मूल्य आकाशिएको र निगमको घाटा चुलिमा पुगेकाले सरकारको ध्यानाकर्षण गराएको आयोगले जनाएको छ ।

सरकारले तत्काल आर्थिक जोहो नगरिदिए तेल किन्नै नसक्ने अवस्थामा पुग्ने निगमको चेतावनी दिएको छ । 

आयल निगमले यसअघि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने बताएको थियो । 

निगमले भारतलाई ३० अर्ब रूपैयाँ तिर्न बाँकी रहेको छ । निगमले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको उल्लेख गरेको छ ।

त्यस्तै निगमले तेल वितरण प्रणालीमा कोटा लगाउनेगरी सरकारलाई प्रस्ताव गरेको छ । 

निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र कार तथा जिपलाई २० लिटरसम्म तेल वितरण गर्नेगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव पठाएको हो । 

त्यस्तै सरकारी तथा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन गर्न पनि निगमले प्रस्ताव गरेको छ । देशका प्रमुख शहरमा शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्नुपर्ने निगमको प्रस्ताव छ । 

Leave A Reply

Your email address will not be published.