विपद्का घटनाबाट साढे दुई महिनामा १०१ जनाको मृत्यु, ११ वर्षमा २६ सय बढीले गुमाए ज्यान

0

काठमाडौं : विपद्का घटनामा परी पछिल्लो साढे दुई महिनाको अवधिमा नेपालमा १०१ जनाले ज्यान गुमाएका छन् । 

२०७९ वैशाख १ गतेदेखि असार १८ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरुको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार सो अवधिमा पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जंगल आगलागी, हवाहुरी र जनावरको आक्रमणका घटनामा परी उनीहरुको मृत्यु भएको हो । 

२०७९ साल शुरु भएपछि सबैभन्दा बढीको मृत्यु चट्याङ लागेर भएको छ । चट्याङ लागेर पछिल्लो साढे दुई महिनाको अवधिमा ३९ जनाको मृत्यु भइसकेको छ । 

उक्त अवधिमा पहिरोमा परी ११, बाढीमा परी ३, भारी वर्षाका कारण ३, सर्पको टोकाइबाट ५, आगलागीमा परी २०, हावाहुरीका कारण ८ र जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । 

बितेको साढे दुई महिनाको अवधिमा विपद्का घटनामा परी ३ जना बेपत्ता भएका छन् । 

प्राधिकरणका अनुसार यस वर्ष विपद्का घटनाका कारण राज्यले ६५ करोड २१ लाख २३ हजार ५६० रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरिसकेको छ । 

सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले ५४ करोड ९६ लाख ३४ हजार ४६० रुपैयाँ बराबरको गरेको छ । पहिरोका घटनाले हालसम्म ४ करोड ४७ लाख ७५ हजार रुपैयाँ र हावाहुरीले २ करोड ५४ लाख ११ हजार ८०० सय रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ । 

११ वर्षमा ठूलो क्षति

मनसुनजन्य विपद्का घटनाले बितेको ११ वर्षमा नेपालमा ठूलो जनधनको क्षति गरेको छ । 

प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७८ चैत मसान्तसम्म ११ वर्षको अवधिमा नेपालमा मनसुनजन्य विपद्का घटनाका कारण २ हजार ६६२ जनाको मृत्यु भएको छ । 

सोही समयमा रेकर्ड भएका ५ हजार ८२५ वटा मनसुनजन्य विपद्का घटनामा ८८० जना व्यक्ति बेपत्ता भएका छन् । विपद्का घटनाले ११ वर्षमा १९ अर्ब ८ करोड ३७ लाख ९७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ । 

नेपालमा मनसुनजन्य विपद्मध्ये बाढी, डुबान, कटान, पहिरो र भारी वर्षाले सबैभन्दा ठूलो जनधनको क्षति गर्ने गरेको छ । मनसुनजन्य विपद्ले पछिल्लो ११ वर्षमा १६ हजार ३९ घरमा पूर्ण क्षति र ४५ हजार ३९३ घरामा आंशिक क्षति गरेको प्राधिकरणको तथ्यांकले देखाउँछ । 

प्राधिकरणका अनुसार बितेको ११ वर्षको अवधिमा नेपालमा १ हजार ७५६ वटा बाढीका घटना रेकर्ड भएका छन् । ती घटनामा ८७५ जनाको मृत्यु र ५४८ जना बेपत्ता भएका छन् । बाढीका घटनाले १६ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी गरेको जानकारी प्राधिकरणले दिएको छ । 

विगत ११ वर्षमा मनसुनजन्य विपद्का  घटनामध्ये सबैभन्दा बढी पहिरोका घटना भएका छन् । मानवीय क्षति पनि पहिरोबाट धेरै भएको छ । यस अवधिमा २ हजार ४६५ वटा पहिरोका घटना रेकर्ड भएको छन् । ती घटनामा परी १ हजार ३८७ जनाको ज्यान गएको छ भने ३३० जना बेपत्ता भएका छन् । 

पहिरोले पछिल्लो ११ वर्षमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.