मनसुन थप सक्रिय, ३ दिनसम्म देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

0

काठमाडौं : मंगलबारबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

देशभर मनसुनी वायुको प्रभाव रहँदा मंगलबार कर्णाली, प्रदेशएक र मधेस प्रदेशका एकदुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, मधेस प्रदेश, वाग्मती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राति देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम विभागले औंल्याएको छ । 

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.