वामदेव गौतम भन्छन्- प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए सायद नेकपा जोगिन्थ्यो होला

0

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका नेता वामदेव गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संगीन आरोपपत्र’ फिर्ता लिएको भए तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुनबाट जोगिन्थ्यो कि भन्ने अहिले पनि लागिरहेको बताएका छन् । 

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले भने, ‘सायद त्यतिबेला प्रचण्डले त्यो आरोपपत्र फिर्ता लिएँ भन्नुभएको भए पार्टी फुट्नबाट जोगिन्थ्यो कि भन्ने आज पनि मलाई लाग्छ ।’

उनले नेकपा विभाजन हुने बेला प्रचण्ड र केपी शर्मा ओलीबीच भएको संवादको बारेमा जानकारी दिँदै नेकपा विभाजनप्रति पश्चाताप गरेका हुन् ।  

‘ओलीजीले मलाई लगाइएको संगीन आरोप जुन छ, त्यो फिर्ता गरौं भन्नुभयो, प्रधानमन्त्री छाड्ने र अर्कोलाई बनाउने विषयमा थोरै छलफल भयो’, वामदेवले भने, ‘तर त्यसलाई अघि बढाउन सकिएन । तर, संगीन आरोपपत्र फिर्ता लिन मैले सक्दिँन भनेर प्रचण्डले भन्नुभयो ।’

त्यस्तै उनले आफू गुटमा नलागेको भए तत्कालिन नेकपा पार्टी नफुट्‌ने दाबी गरे । गौतमले आफुलाई पार्टी फुट्‌ने कल्पनासमेत नभएर गुटमा लागेको बताए ।

‘मेरै कारणले तत्कालिन नेकपा पार्टी फुट्यो भन्ने आरोप लगाए । म गुटमा नलागेको भए पार्टी फुट्ने थिएन’ गौतमले भने ‘मैले आत्मआलोचना गरेको छु । मलाई कल्पना पनि थिएन पार्टी फुट्‌छ भनेर ।’

प्रचण्डले ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने भएपछि आफुले प्रचण्डको गुट पनि छाडेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.