नेपाली युवती बलात्कार गर्नेलाई कारवाही गर्न आनाकानी

0

नयाँ दिल्ली, २४ भदौ । साउदी अरब र भारतमा पटक–पटक दुई नेपाली युवतीलाई बलात्कार गरेको आरोप लागेका भारतस्थित साउदी कुटनीतिज्ञमाथि कारवाही गर्न भारतले आनाकानी गरेको छ । पीडित पक्षले भारतीय प्रहरी समक्ष लिखित उजुरी गर्दासमेत भारतले कारवाही गर्न चासो नदेखाएको हो । भारतले सो मामलामा अझै गिरफ्तारी गरेको छैन । दिल्ली नजिकैको गुडगाउबाट प्रहरी र सामाजिक संस्थाको संयुक्त प्रयासमा दुई नेपाली युवतीको उद्धार गरिएको छ । तर दुई दिन बितिसक्दा पनि आरोपीलाई पक्राउ गर्ने तथा कारवाही अघि बढाउने पहल नभएको हो ।
भारतस्थित साउदी दुतावासका प्रथम सचिव माजिदले दुई नेपाली युवतीलाई घरेलु कारमदारका रुपमा राख्दै साउदी अरब लगेर तथा दिल्लीमै राखेर बारम्बार बलात्कार गरेको बताइन्छ । पीडितलाई उद्धार गरिएको छ भने कारवाहीका लागि उनीहरुले भारतीय प्रहरीसमक्ष निवेदन समेत दिइसकेका छन् । भारतका वरिष्ठ वकिल केटिएस तुलसीका अनुसार कुटनीतिक संरक्षण फिर्ता नलिएसम्म कुनै पनि मुलुकले अर्को मुलुकको कुटनीतिज्ञलाई कारवाही गर्न मिल्दैन ।
सन् १९६१ मा भएको भियना सन्धी अनुसार कुटनीतिज्ञलाई कुटनीतिक संरक्षण प्रदान गरिएको हुन्छ । उक्त सन्धीको अनुच्छेद २९ मा कुनै पनि मुलुकको कुटनीतिज्ञलाई अर्को मुलुकले हिरासतमा लिन नपाइने प्रावधान छ । यतिमात्र होइन, उसको प्रतिष्ठामा ठेस लाग्ने काम समेत गर्न नहुने सो प्रावधानमा उल्लेख छ ।
सोही सन्धीको अनुच्छेद ३१ मा कुनै पनि कुटनीतिज्ञलाई आपराधिक मुद्दाबाट पनि उन्मुक्ति दिइएको छ । भारतले नेपाली युवती बलात्कार गरेको आरोपमा साउदी कुटनीतिज्ञमाथि कारवाही गर्ने हो भने सबैभन्दा पहिला आरोपीमाथिको कुटनीतिक संरक्षण हटाउन साउदी सरकारलाई आग्रह गर्नुपर्दछ । तर पीडित आफ्ना नागरिक नभएका कारण यसका लागि भारतले पहल गरेको छैन ।
नेपाल सरकारले पनि औपचारिक रुपमा भारतसमक्ष कारवाहीका लागि सिफारिस गरेको छैन । साउदी अरबसँग नेपालको समेत कुटनीतिक सम्बन्ध रहेका कारण आरोपी कुटनीतिज्ञमाथि कारवाहीका लागि नेपालले पनि साउदी सरकारसँग सहयोग माग गर्नुपर्ने विज्ञहरु बताउँछन् ।
आरोपी साउदी कुटनीतिज्ञमाथिको कुटनीतिक संरक्षण हटाउन नेपाल र भारतले साउदी सरकारलाई आग्रह गरेको खण्डमा मात्र उनीमाथि कारवाही हुने देखिन्छ । त्यसो त आफ्नो चासोका कतिपय विषयमा विभिन्न मुलुकले कुटनीतिक संरक्षण नहटाइएको अवस्थामा समेत कारवाही गरेको पाइन्छ । अमेरिका र रुसबीच बेलाबखत यस्तो कारवाही हुने गरेको छ । तर कुनै मुलुकले आफ्ना कुटनीतिज्ञमाथि कारवाही गरेको खण्डमा सम्बन्धित मुलुकले पनि प्रतिशोधात्मक कारवाही गर्ने गरेका उदाहरण छन् । यसले तनाव बढाउने भन्दै भारत साउदी कुटनीतिज्ञका सवालमा त्यस प्रकारको अभ्यास गर्नबाट पछि हटेको छ ।

Leave A Reply

Your email address will not be published.