फोहोरको अवरोध हट्यो : राति मात्रै लैजान पाउने गरी स्थानीय र महानगरबीच १८ बुँदे सहमति

0

काठमाडौं : काठमाडौंमा थुप्रिएका फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाबीच सहमति भएको छ ।

महानगरपालिका र स्थानीय बासिन्दाबीच बिहीबार राति १८ बुँदे सहमति भएसँगै शुक्रबारदेखि फोहर उठ्न शुरु भएको छ ।

सहमतिमा फोहोर व्यवस्थापन रातको समयमा मात्र गर्ने समझदारी भएको छ । स्थानीय बासिन्दाका लागि महानगरले नियमित बजेट छुट्याउनुपर्नेदेखि पूर्वाधार निर्माणसम्मको सहमति भएको छ ।

राति ढुवानी गर्दा आवश्यक बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने सहमति भएको छ ।

यस्तै सिसडोल तथा बन्चरे डाँडामा फोहरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फोहर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने सहमति पनि भएको छ ।

सहमति पत्रमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल तथा प्रभावित क्षेत्रमा पर्ने ककनी गाउँपालिका–१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा २ का वडाध्यक्ष तिलकबहादुर लामा, धुनिबेसी गाउँपालिका–१ वडाध्यक्ष मानबहादुर तामाङ र ३ का वडाध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् ।

Leave A Reply

Your email address will not be published.