सांसदहरु भन्छन्- माध्यामिक तहको शिक्षालाई निःशुल्क गर्न नसके मन्त्रालय चाहिन्न

0

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माध्यामिक तहको शिक्षालाई निशुल्क गर्न नसके शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आवश्यकता नरहने बताएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा उनले सरकारले माध्यामिक शिक्षालाई निशुल्क र अनिवार्य गराउन नसके शिक्षा मन्त्रालयको आवश्यकता नरहने बताएका हुन् । 

उनले विश्वविद्यालय शिक्षापनि निशुल्क हुनुपर्ने बताए । सांसद सुवालले तराईका जनताले आर्सेनिकयुक्त खानेपानी खानुपर्ने स्थितिमा खानेपानी मन्त्रालयको पनि औचित्य नभएको बताए । 

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई अनुसन्धानमुलक बनाउने ठोस कार्यक्रम नआएको बताइन् । उनले सरकारी तहबाट नै नीजिकरण र व्यापारीकरणलाई प्रोत्साहन गर्नेगरी नीति ल्याइएको बताइन् । 

शिक्षालाई समयानुकुल वैज्ञानिक बनाउने योजना सरकार सँग नरहेको उनले उल्लेख गरिन् । नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई बेवास्ता गरिएको उल्लेख गर्दै उनले यसो गरेमा शिक्षा क्षेत्र तहसनहस हुने बताइन् । 

नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले संघीय शिक्षा ऐनको अभावमा विश्वविद्यालय र विद्यालयहरु अस्तव्यस्त बनिरहेको बताए । उनले त्रिभुवन विश्वविद्यालयमा सरकारकै संरक्षणमा तालाबन्दी गरिएको आरोप लगाए । 

नेकपा एमाले का सांसद डा. सुर्य पाठकले मन्त्री र सरकारको संसदप्रति जवाफदेहिता नभएको बताए । उनले संसदमा बजेटमाथि छलफल भइरहेको भएपनि मन्त्रीहरु विदेश सयरमा रहेको टिप्पणी गरे । 

सांसद पाठकले फोहोरको थुप्रो र शुद्ध पिउने पानीको आभावमा जनताको जनजिवन कष्टप्रद बनेको बताए । 

Leave A Reply

Your email address will not be published.