फोहोरमा सधैं अवरोध : बन्चरेडाँडा पुगेका गाडी फोहोर नफाली फर्किए

0

काठमाडौं : बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न बुधबार पनि स्थानीयले अवरोध गरेका छन् ।

काठमाडौंको फोहोर लिएर बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सवारी साधन स्थानीयको अवरोधपछि फोहोर नखसाली काठमाडौैं नै फिर्ता गरिएको छ ।

केही गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाले पनि स्थानीयले गाडीमा ढुंगामुढा गर्न थालेपछि धेरैजसो गाडी फोहोरसहित फिर्ता गरिएको हो ।

स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो । 

प्रहरीले धरपकड गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए । गत १४ जेठदेखि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासहित उपत्यकाका शहरबाट नउठेको फोहोर मंगलबारबाट उठ्न शुरु भएको थियो ।

मंगलबार फोहोर लिएर सिसडोल र बन्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेपछि फोहोर विसर्जन गरिएको थियो । तर बुधबार भने प्रहरीले बल प्रयोग गरे पनि फोहोर विसर्जन गर्ने स्थिति नबनेपछि फोहोरका गाडी फर्किएका हुन् ।

बुधबार स्थानीयले ढुंगा मुढा गर्दा केही प्रहरी घाइते भएका छन् । प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको थियो । तर प्रहरीले सुरक्षा दिन नसकेपछि फोहोर बोकेका सवारीलाई काठमाडौं नै फर्काइएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.