गहिरिँदै फोहोरको समस्या : फोहोर नउठ्दा काठमाडौं उपत्यका नै दुर्गन्धित

0

काठमाडौं : काठमाडौं उपत्यकामा पुनः फोहोर थुप्रिएको छ । दुई हप्तादेखि फोहोर उठ्न रोकिएपछि सिङ्गै उपत्यका कुरूप देखिनुका साथै महानगर दुर्गन्धित बनेको छ । 

दुई हप्ताअघि सुरक्षाकर्मी तैनाथ गरेर बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न शुरु गरिए पनि स्थानीयवासीको अवरोधका कारण अहिले फोहोर व्यवस्थापन रोकिँदा काठमाडौँमा फोहोर थुप्रिन पुगेको छ । 

यसअघि फोहोर विसर्जन गरिँदै आएको सिसडोलको डम्पिङसाइटको व्यवस्थापन गर्नुपर्ने भन्दै बन्चरेडाँडामा पहिलो पटक फोहोर विसर्जन गर्न शुरु गरिएको थियो । 

बञ्चरेडाँडामा पनि स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि फोहोर व्यवस्थापन कार्य ठप्प भएको छ । 

सिसडोल र बन्चरेडाँडाका स्थानीयवासीको माग सम्बोधन, पासाङ ल्हामु राजमार्गअन्तर्गतको तीनपिप्लेदेखि बन्चरेडाँडासम्मको बाटो निर्माण लगायतका विकल्पमा छलफल भैरहेको शहरी विकास मन्त्रालयले जनाएको छ । 

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले पनि प्रधानमन्त्री, प्रमुख दलका नेता र बागमती प्रदेशका मुख्यमन्त्रीसँग भेटेर समस्या समाधानका लागि ध्यानाकर्षण गराएका छन् । 

तर फोहोर उठने वातावरण तयार भएको छैन । काठमाडौँ महानगर र सरकारले सत्र वर्ष अघिदेखिको माग पूरा नरेकाले बन्चरेडाँडामा फोहोर व्यवस्थापनमा अवरोध गर्नुपरेको स्थानीयको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.