प्रधानमन्त्री देउवाद्वारा मन्त्रीमण्डल हेरफेरको तयारी, शपथ पनि आजै

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रीमण्डल हेरफेरको तयारी गरेका छन् । 

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ । 

सोही अनुसार प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल हेरफेर गर्न लागेका हुन् । एकीकृत समाजवादीबाट मन्त्रीका लागि सिफारिस भएकाहरूको सोमबार दिउँसो शपथको तयारी छ । 

नयाँ मन्त्रीहरूको नामावली आइतबार नै पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् । 

एकीकृत समाजवादीको आइतबारको सचिवालय बैठकले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हिरा केसीलाई मन्त्रीका लागि सिफारिस गरेको थियो । केसी राज्यमन्त्रीका लागि सफारिस भएका हुन् । 

सरकारमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ फिर्ता बोलाइएको छ । 

स्वास्थ्य राज्यमन्त्री भएका खापुङलाई बढुवा गरेर स्वास्थ्यमन्त्री, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन, चौधरीलाई सहरी विकास, कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरिएको छ ।

Leave A Reply

Your email address will not be published.