दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

0

गजुरी, २२ भदौ । भीमढुङ्गा–लामिडाँडा सडकअन्तर्गत धादिङ जिल्लाको जीवनपुर गाविस–५ चिउरीबोट नजिकै सोमबार भएको दुर्घटनामा मृत्यु हुने सबै छ जनाकै सनाखत भएको छ । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक प्रेमबन्धु पोखरेलका अनुसार जीवनपुर गाविस–५ का प्रताप तिमिल्सिना, ५५ वर्षीया ठुली तामाङ र ४० वर्षीया प्रमिला ढुङ्गानाको घटनास्थलमै मृत्युभएको हो ।
यसैगरी उपचारको क्रममा काठमाडौँका ट्रमा सेन्टरमा १५ वर्षीया अन्जु तामाङ, आर्य हस्पिटल छाउनीमा ८५ वर्षीया कान्छी रेग्मी, सिटीसेन्टर कलङ्कीमा १९ वर्षीया रन्जीता ढुङ्गानाको मृत्यु भएको हो ।
चालीस जना यात्रुमध्ये ३४ जना घाइते भएका छन् । घाइतेमध्ये सिटी सेन्टरमा तीन, वीर अस्पतालमा १३, न्यूरो अस्पतालमा पाँच, बिएन्डबीमा पाँच, स्टार अस्पतालमा एक जनाको उपचार भइरहेका छन् ।
गोदावरीमा १२ वर्षे मेला भरेर फर्किएका तीर्थालु चढेको बा२ख २३२१ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको थियो ।
तीर्थयात्राका निम्ति चक्रपथमा गुड्ने बस रिजर्भ गरेर गाउँभरिका मानिस जम्मा भएर गोदावरी पुगेका थिए । चालकलाई बाटोको ज्ञान नहुँदा साँघुरो बाटोमा तीव्र गतिमा गुडेको बस अनियन्त्रित भई पल्टिएको स्थानीयवासी बताउँछन् ।

Leave A Reply

Your email address will not be published.