गच्छदारले भने–‘८ प्रदेश नै चाहिन्छ’

0

काठमाडौं, २२ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संविधान निर्माणको जारी प्रक्रियाबाट बाहिरिएको घोषणा गरेको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई मंगलबार ज्ञापनपत्र बुझाएर फोरम लोकतान्त्रिकले संविधानसभाको प्रक्रियाबाट बाहरिएको जानकारी गराएको हो । संविधानसभाबाट संविधान जारी गर्नुपर्ने आफूहरु अझै पनि दृढ रहेको भएपनि आफूहरुका मागको सुनुवाइ नभएका कारणले संविधान निर्माणको जारी प्रक्रियाबाट बाहिरिएको फोरम लोकतान्त्रिकले स्पष्ट पारेको छ ।
संविधानसभाका अध्यक्षसँगको भेटपछि सिंहदरबारमा सन्चारकर्मीहरुसँग कुरा गर्दे फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले तराई मधेसमा मुठभेड र दंगा हुँदासमेत आन्दोलनकारी मागहरुलाई सम्बोधन नगरी जारी भएको संविधान स्वीकार्य नहुने चेतावनी दिए ।
यो देशलाई मुठभेडबाट जोगाउन आफ्नो अझै पनि प्रयास जारी रहने गच्छदारले स्पष्ट पारे । १६ बुँदे सहमतिबाट पछि हटेका कारण यो अवस्था आएको भन्दै गच्छदारले भने–‘पहिला ८ प्रदेश, मेरो असहमतिका बीचमा ६ प्रदेश, फेरि ७ प्रदेश यति भइसकेपछि ८ प्रदेश किन बनाइएन, ८ प्रदेश बनाएपछि मात्रै सहमति हुन्छ ।
‘तीन दलका नेता तीनतिर फकिएका थिए, तीनओटा घाटमा मुख फर्काएका नेताहरुलाई एक ठाउँमा ल्याएर १६ बुँदे सहमति गराउने मलाई यो प्रक्रियाबाट अलग गराउन खोज्ने ?’ उनको प्रश्न थियो । थारु आन्दोलनलाई आफ्नो सुरुदेखि नै समर्थन रहेको स्पष्ट पार्दै गच्छदारले अब तराई मधेसका अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिए । सबै जनताले स्वीकार्ने संविधान बन्न नसकेपनि अधिक जनताले स्वीकार्ने संविधान बन्नुपर्ने गच्छदारको माग छ । मागपत्र बुझाउन गच्छदार आफ्ना सभासद लिएर सिंहदरबार पुगेका थिए । फोरम लोकतान्त्रिकका १४ जना सभासद रहेका छन् ।

Leave A Reply

Your email address will not be published.