काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानूनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन दिएको छ ।
आइतबार बसेको समिति बैठकले कानूनी बाधा हटाएर विमानस्थल निर्माण शीघ्र अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।
लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोक्ने निर्णय उचित नभएको समितिको निष्कर्ष छ ।
बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निजगढ विमानस्थलको विकल्प नभएको बताए । नेपालले सर्वोच्चबाट आएको फैसलाबाट आफु स्तब्ध भएको बताउदै वस्तुस्थितिबारे जानकारी नभइकन बनाउन नहुने भन्ने निर्णय गरिएको टिप्पणी गरे ।
नेपाली कांगेसका सांसद प्रकाशमान सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसकेमा राज्यको लगानी खेर जाने बताए ।
नेकपा एमालेका सांसद भीम रावलले सर्वोच्च अदालतको आदेश वेवास्ता गरेर भएपनि बिमानस्थल निमार्ण हुनु पर्ने बताए ।
नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले निजगढ विमानस्थल बन्न नसेकमा सय वर्ष पछाडी परिने बताए ।
सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले हालै मात्र निजगढ विमानस्ल निर्माण नगर्न आदेश दिएको थियो ।