बालेन साहले पदभार ग्रहणपछि भने ‘नगरसभा बैठक लाइभ’

0

काठमाडौं महानगरपालिका नवनिर्वाचित प्रमुख बालेन साहले पदभार ग्रहण गरेका छन्। राष्ट्रियसभा गृहमा शपथ ग्रहण गरेपछि सिधै महानगरपालिको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। 

पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। आज अपरान्ह ४ बजे नगरकार्यपालिकाको बैठक बस्ने र त्यसको लाइभ प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्। 

यसअघि नै चुनावी प्रचार प्रसारका दौरान साहले मेयरमा निर्वाचित भएपछि नगरकार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने बताएका थिए। 

१६२ जना नगर कार्यसमिति रहेको काठमाडौं महानगरपालिकामा १६० जना मात्र निर्वाचित भएका छन्। वडा नम्बर २४ र २५ को दलित महिला सदस्यमा उम्मेदवारी नपरेपछि उक्त पद रिक्त छन्। 

त्यसअघि साेमबार नै महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा  आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराएका थिए।

सो लगत्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराए।  उपप्रमुख डङ्गोलले नेपाल भाषामा शपथ लिइन्। प्रमुख साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा पनि शपथको व्यहोरा पढेका थिए।

शपथ ग्रहण समारोहमा प्रमुखमा निर्वाचित साह दौरा सुरुवाल, कोट र भादगाउँले टोपी तथा उपप्रमुख डङ्गोलले हातले बुनेको ढाकाको साडी, चोलोका साथ सहभागी थिए। 

सो अवसरमा मुख्य निर्वाचन अधिकृत खतिवडाले जनताले दिएको मतलाई शिरोधार्य गरेर जनताको सेवा गर्न आग्रह गरे। गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल निर्वाचित भएका थिए । गत वैशाख ३१ गते बिहानदेखि कामपाको मतगणना सुरु गरिएको थियो। 

महानगरको अन्तिम मतपरिणाम गत शुक्रबार मात्रै सार्वजनिक भएको थियो। वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नै परेन। कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जनाको उम्मेदवारी परेको थियो। कामपाको ३२ वडामध्ये १९ वडामा नेपाली कांग्रेस र १२ वडामा एमाले विजयी भएको छ। एक वडामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। 

तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ मत खसेको थियो। सात हजार ६८२ मत पूर्ण बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। 

Leave A Reply

Your email address will not be published.