१५ औं गणतन्त्र दिवस मनाइँदै, राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

0

काठमाडौं : १५ औं गणतन्त्र दिवस आइतबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । 

हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाउन लागिएको हो । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनको रुपमा दिवस मनाउने गरिन्छ । 

तर सबै राजनीतिक दल एकजुट भएर गणतन्त्र ल्याए पनि त्यसपछिका दिनहरुमा नागरिक तहमा गणतन्त्रको आभाष हुन नसकेको आम गुनासो छ । 

संविधानको व्यवहारिक कार्यान्वयन अभाव, राजनीतिक अस्थिरता, विकास र समृद्धिमा हुन नसकेको तीव्र प्रगति लगायतले नागरिकमा आशाभन्दा बढी निराशा देखिन थालेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको उल्लेख छ । 

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन् । 

गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै देउवाले सो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत् र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ्न आह्वान गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.