बूढीगंगाबाहेक सबै पालिकाको अन्तिम नतिजा आयो, २५ पालिकाकाे प्रमुखमा महिला निर्वाचित

0

काठमाडौं : देशभरका ७ सय ५३ पालिकामध्ये बाजुराको बूढीगङ्गा नगरपालिकाबाहेक अरु सबैको अन्तिम नतिजा आएको छ । नेपाली कांग्रेसले ३ सय २८ पालिकामा प्रमुख पद जितेको छ ।

त्यस्तै एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१ वटा पालिकामा प्रमुख पद जितेको छ । जनता समाजवादी पार्टीले ३०, नेकपा (एकीकृत समाजवादी) ले २०, लोसपाले १६, राप्रपा, जनमोर्चा, नागरिक उन्मुक्ति पाटीले ४/४, जनमत पार्टीले २, नेमकिपा, जनता प्रगतिशील, तमलोपा र विवेकशील साझाले १/१ र  स्वतन्त्रले १३ पालिकामा प्रमुख पद जितेका छन् ।

यस्तै निर्वाचनमा ५५ हजार ६ सय ९९ महिला उम्मेदवार रहेकोमा १४ हजार ४ सय २ महिला निर्वाचित भएका छन् । तीन वटा पालिकामा प्रमुख र उपप्रमुख नै महिला निर्वाचित भएका छन् ।

प्रदेशगत रुपमा महिला निर्वाचित संख्या प्रदेश –१ मा २ हजार ४ सय ५५ जना, मधेस प्रदेशमा २ हजार ७ सय ७० जना, वाग्मतीमा २ हजार ३ सय ४७ जना रहेका छन् ।

यस्तै गण्डकी प्रदेशमा १ हजार ६ सय २२, लुम्बिनी प्रदेशमा २ हजार १ सय २४, कर्णाली प्रदेशमा १ हजार ५ सय २४ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ६० जना महिला निर्वाचित भएका निर्वाचन आयोगको पछिल्लो तथ्यांक छ ।

देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित भएका छन् । ७ सय ५३ वटा पालिकामा ३५ हजार २ सय २१ जना प्रतिनिधि चुन्न गएको वैशाख ३० गते मतदान भएको थियो ।

Leave A Reply

Your email address will not be published.