सौन्दर्य प्रतियोगितामा सहभागी युवतीको बलात्कार घटना संसदमा प्रवेश

0

काठमाडौं : सुन्दरी प्रतियोगिताका सञ्चालकले आठ वर्षअघि एक किशोरीमाथि गरेको बलात्कारको घटनाले संसदमा प्रवेश पाएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सदस्य गगन थापाले किशोरी बलात्कारको घटनामा तत्काल छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

प्रतिनिधिसभामा जारी विनियोजनक विधेयकको पूर्वछलफलमा भाग लिनुअघि किशोरी बलात्कारको घटनाबारे ध्यानाकर्षण गराउँदै थापाले बलात्कारसम्बन्धी कानूनमा रहेको हदम्यादसम्बन्त्री विषयमा पुनर्विचार गर्न माग गरे ।

थापाले बलात्कार घटनामा गम्भीरतापूर्वक अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौनहिंसाको घटनाको सम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद थापाले बलात्कार घटनाबारे धारणा राख्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेलगत्तै समामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानविन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन् । 

यता नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बलात्कारसम्बन्धी मुद्दामा लगाइएको हदम्याद हटाउनुपर्ने बताएका छन् । उनले त्यस्तो हदम्यादका कारण अपराधीले सहजै उन्मुक्ति पाउने र पीडित कमजोर हुने अवस्था रहेको बताएका छन् ।

सामाजिक सन्जालमार्फत् उनले हदम्यादले पीडितहरु प्रताडनाबाट गुज्रने गरेको पाइएको भन्दै बलात्कारका पुराना घटनाको उजुरी नलिदाँ पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मूक्ति पाउने अवस्था अन्त्यका लागि अपराधमा समय सीमाको हदम्याद तोकिनु नहुने बताएका हुन् ।

बिहीबारमात्रै आठ वर्षअघि भएको एक सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफुमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.