नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी

0

काठमाडौं : सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साउन २२ गतेदेखि संसदमा छ । 

विधेयकलाई अघि बढाउन आज गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । 

दाहाल निवास खुमलटारमा भएको भेटमा नागरिकता विधेयकका बहसमा रहेका केही प्रावधानबारे छलफल भएको जनाइएको छ । नागरिकता विधेयकमा नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी नागरिकलाई वैवाहिक अंगिकृत नागरिकता विवाह लगत्तै दिने कि निश्चित अवधिपछि दिने भन्ने विषयमा विवाद छ । 

दाहालसँगको भेटमा अन्य विधेयकहरु पेश गर्ने, संसदमा भएका विधेयकहरुलाई अगाडि बढाउने लगायतका विषयमा छलफल भएको जनाइएको छ । 

संसदमा रहेका विधेयकहरुका प्रावधानलाई एकै पटक संशोेधन गरेर अगाडि बढाउने सरकारको तयारी रहेको बताइएको छ । 

विधयेक संशोधनका विषयमा कानुनमन्त्री बन्दीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेका छन् ।

Leave A Reply

Your email address will not be published.