प्रशिक्षक-खेलाडी विवाद : छानविन समितिले एन्फालाई बुझायो प्रतिवेदन

0

काठमाडौं : फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताईरीसँग असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीबीचको विवाद पहिचान गर्न गठन भएको छानविन समितिले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रतिवेदन बुझाएको छ । 

नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले बुधबार २८ पृष्ठ लामो प्रतिवेदन एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई बुझाएको हो । 

छानविन समितिका संयोजक भिक्टर लामाले विवादसँग जोडिएका सबै पक्षसँग प्रश्नवाली बनाएर बयान लिएको र बयानमा आएका विषयलाई प्रतिवेदनमा समेटिएको बताए ।

छानविन समितिमा पूर्व खेलाडी विदुर बिष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा थिए । समितिले तयार पारेको प्रतिवेदन बुझ्दै एन्फाका महासचिव इन्द्रमान तुलाधरले अध्ययन गरेर छिटो भन्दा छिटो सार्वजनिक गर्ने बताए ।

महासचिव तुलाधरले सचिवालयबाट हुने भए सचिवालय, आवश्यक परे कार्यसमिति वा न्यायिक निकायसम्म प्रतिवेदनको अध्ययन गरेर सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । 

मुख्य प्रशिक्षक अल्मुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै एएफसी एशियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले वैशाख १३ गते बन्द प्रशिक्षण छाडेका थिए । 

उनीहरुले बन्द प्रशिक्षणमा रहँदा आफूहरुलाई सेवा सुविधा राम्रो नभएको र राम्रो सेवा सुविधा उपलब्ध गराउन माग राखेका थिए । सोही विषयलाई लिएर मुख्य प्रशिक्षकसँग खेलाडीको दूरी बढेको थियो । 

असन्तुष्ट खेलाडीहरुले बारम्बार अलमुताईरीले क्याम्प छाडेर जान भनेपछि आफहूहरु बाध्य भएर प्रशिक्षण छाडेको बताउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.