स्थानीय चुनावका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटिए

0

काठमाडौं : शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट साढे दुई लाख भन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटाइएका हुन् ।

गृह मन्त्रालयका अनुसार नेपाली सेनाबाट ७१ हजार ५ सय, नेपाल प्रहरीबाट ६२ हजार, सशस्त्र प्रहरी बलबाट ३२ हजार र राष्ट्रिय अनुसन्धान विभागबाट दुई हजार कर्मचारी निर्वाचन सुरक्षाका लागि कार्यक्षेत्रमा पठाइएका छन् । निर्वाचन सुरक्षाका लागि भनेर भर्ना गरिएका एक लाख म्यादी प्रहरी पनि निर्वाचन सुरक्षार्थ खटिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार स्थानीय तह एकीकृत सुरक्षा योजना–२०७८ अनुसार चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ । मन्त्रालयले मतदान स्थललाई तीन तहमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाएको छ ।

मन्त्रालयले देशभरका १० हजार ७५६ मतदान केन्द्रमध्ये २ हजार ९४६ वटालाई अति संवेदनशील मानेको छ भने ४ हजार ४२३ वटा संवेदनशील र ३ हजार ३७८ वटा सामान्य छन् ।

मन्त्रालयको रिपोर्ट अनुसार सबैभन्दा बढी अति संवेदनशील मतदान केन्द्र मधेश प्रदेशमा छन् । मधेशपछि लुम्बिनी, सुदूरपश्चिम र प्रदेश–१ लाई चुनौतिपूर्ण मानिएको छ ।

चार वटै सुरक्षा निकायलाई चुनावमा परिचालन गर्न मन्त्रालयले गृह सचिव टेकनारायण पाण्डेको नेतृत्वमा केन्द्रीय सुरक्षा समिति बनाएको छ । समितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकारी पनि सदस्य छन् । उनीहरुले आवश्यकता अनुसार देशभरका सुरक्षाकर्मीलाई निर्देशन दिनेछन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार मतदान केन्द्रको सुरक्षाका संवेदनशीलताका आधारमा पहिलो घेरामा ८ देखि ११ जना सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।

मतपेटिकाको सुरक्षासँगै प्रहरीले आफ्नो नेतृत्वमा म्यादी प्रहरीलाई पनि खटाउने छ ।

Leave A Reply

Your email address will not be published.