मे १ : अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

0

काठमाडौं : आइतबार विश्वभर १२१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रमिकहरूको योगदान र भूमिकाको सम्मान गर्दै विश्व श्रम संगठनको आह्वानमा यो दिवस मनाउने गरिन्छ । 

मे महिनाको १ तारिखका दिन हरेक वर्ष यो पर्व मनाइन्छ । मे १ लाई श्रमिक अनि श्रमसँग सम्बन्धी मुद्दाको लागि विशेष अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । 

यस दिन श्रमिकहरूले दैनिक रूपमा ८ घण्टा कार्य गर्ने वातावरणका लागि भनेर आन्दोलन गरेको थिए । विश्वभरिका श्रमिकहरूले एकापसमा ऐक्यबद्धता आदानप्रदान गर्दै श्रमिक अधिकारको रक्षा र प्रवद्र्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ । 

नेपालको संविधानमा श्रम अभ्यास र श्रमिकको पारिश्रमिकको हकको सुनिश्चिता भएको छ । बालश्रम, बाधा श्रम निषेध भएको छ । विभिन्न जातीय, लैङ्गिक, क्षेत्रीय, भाषिक, धार्मिक, वैचारिक आधारमा हुने भेदभाव अन्त्य गरी समानताको प्रत्याभूति गरिएको छ । 

औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमा गरिएको छ । तर, श्रमिकको हक अधिकारका विषय संविधानमा लेखिए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको छ ।

शुभकामना सन्देश

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिएका छन् । 

शुभकामना सन्देशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेकि छिन् । 

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक सामाजिक क्षेत्रको महत्वपूर्ण चालक शक्तिका रूपमा रहेको श्रमिक वर्गको काम र जीवनलाई मर्यादित बनाएर मात्रै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने बताएका छन् । 

उनले श्रमिकहरूको एकता र संघर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन् । 

श्रममन्त्री किसान श्रेष्ठ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि श्रमिक दिवसको अवसरमा शुभकामना दिएका छन् । 

उनीहरुले आफ्नो सन्देशमा श्रम सम्मान गर्दै राजनीतिक परिवर्तनका लागि श्रमिकले निर्बाह गरेको भूमिकाको प्रशंसा गरेका छन् । 

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.