देशभर झण्डै ८ हजार जनाले उम्मेदवारी फिर्ता लिए

0

काठमाडौं : स्थानीय तह निर्वाचनमा देशभर करिब ८ हजार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

करिब १ लाख ५३ हजार जनाको उम्मेद्वारी परेकोमा करिब ८ हजार जनाले नाम फिर्ता लिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

त्यस्तै हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको आयोगले जानकारी दिएको छ । 

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख १८ गते लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने निर्वाचन आयोगले बताएको छ ।

काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ । 
    
निर्वाचन आयोगले यही वैशाख १३ गतेदेखि मतपत्र ढुवानी शुरु गरेको थियो । हालसम्म छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.