स्थानीय चुनाव : उम्मेद्वारहरुलाई चुनाव चिह्न वितरण गरिँदै

0

काठमाडौं : स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई निर्वाचन आयोगले शनिबार चुनाव चिह्न प्रदान गर्दैछ । 

शुक्रबार अपरान्हसम्म करिब चार हजार उम्मेदवारले नाम फिर्ता लिएकाले बाँकी उम्मेदवारहरुलाई शनिबार आयोगले चिह्न प्रदान गर्न लागेको हो । 

स्थानीय तह निर्वाचन निर्देशिकाअनुसार उम्मेदवारहरूलाई निर्वाचन चिह्न वितरण गर्ने आयोगको तयारी छ । निर्देशिकामा राष्ट्रिय मान्यताप्राप्त छ वटा राजनीतिक दलले आफ्नो दलकै निर्वाचन चिन्ह पाउने व्यवस्था छ । 

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीले देशैभरि आफ्नो निर्वाचन चिह्न पाउनेछन् । 

राष्ट्रिय दलको मान्यता नपाएका तर पछिल्लो संसदीय निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिएका दलहरूले पनि स्थानीय तह निर्वाचनमा आफ्नै दलको निर्वाचन चिह्न पाउँछन् । 

आयोगका अनुसार विवेकशील साझा, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेमकिपासहित यस्ता दलहरूको संख्या २३ रहेको छ । 

यसबाहेकका स्वतन्त्र वा बागी उम्मेदवारहरू भने आयोगले तय गरेका विभिन्न ४० वटा नमुनामध्येबाट निर्वाचन चिह्न पाउने व्यवस्था छ । 

स्थानीय तह निर्वाचन निर्देशिकाले स्वतन्त्र उम्मेदवारहरूलाई उनीहरूले रोजेकै चिह्न प्रदान गरिने व्यवस्था गरेको छ । तर दुई वा त्यसभन्दा बढी उम्मेदवारहरूले एउटै चिह्न रोजेको अवस्थामा भने आयोगले उनीहरूको नामको सुरुको अक्षरका आधारमा प्राथमिकता तय गर्ने नियम छ । 

आयोगले स्वतन्त्र उम्मेदवारहरूका लागि खसीको टाउकोदेखि गुलाबको फूलसम्म निर्वाचन चिह्न तय गरेको छ ।

Leave A Reply

Your email address will not be published.