स्थानीय चुनाव : ठूला दलले आज उम्मेदवारी दर्ता गर्दै, आइतबार दश हजार बढीको मनोनयन दर्ता

0

काठमाडौं : वैशाख ३० गते हुने पालिका चुनावको लागि ठूला दलले सोमबार उम्मेदवारी दर्ता गर्दैछन् । 

निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवार मनोनयनको दिन तोकेकोमा आइतबार पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । 

निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५ सय ३३ जनाले उम्मेदवारी दिएका छन् । स्थानीय तह अध्यक्ष र प्रमुखमा ९ सय ८७, उपाध्यक्ष र उपप्रुमखमा पाँच सय आठ जनाको उम्मेदवारी परेको छ । 

वडाध्यक्षमा २ हजार ९ सय २१, वडा सदस्यमा ३ हजार ३ सय ३८, महिला सदस्यमा १ हजार ५ सय ७६, दलित महिला सदस्यमा १ हजार दुई सय तीन जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । उम्मेदवारी दिनेमध्ये ३ हजार पाँच सय छ जना महिला छन् । 

आयोगले मनोनयन दर्ताका लागि सोमबार बेलुकी ५ बजे अन्तिम समय निर्धारण गरेको छ । आइतबार पहिलो दिन मुख्य दलका तर्फबाट उम्मेदवारी मनोनयन कम परेको आयोगले जनाएको छ । 

चुनावी कार्यक्रम अनुसार सोमबार नै उम्मेदवारको नामावलीको सूची प्रकाशित हुनेछ । मंगलबार दाबी विरोधको समय निर्धारण गरिएको छ ।

बुधवार र बिहीबार दाबी विरोधमाथि जाँचबुझ गर्ने र शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । १७ गते शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.