काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउँदै छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी इन्डिगो एयरलाइन्सबाट बिहीबार दिउँसो काठमाडौं आइपुग्न लागेका हुन् ।
तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नेछन् । त्यसैगरी उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
यस्तै, नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्नेछन् ।
भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ ।
महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्वएशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी १० गते नेपालबाट फर्कने कार्यक्रम छ ।