सरकारद्वारा २० देशका लागि राजदूत सिफारिस

0

काठमाडौं : सरकारले निर्वाचन आचारसंहिता लागू हुने पूर्व सन्ध्यामा व्यापक राजनीतिक नियुक्तिहरू गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । 

सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् भने बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । 

राजदूत नियुक्तिको सिफारिसमा एकीकृत समाजवादीको कोटाबाट पार्टीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेलदेखि ओली सरकारको नियुक्तिका कारण फिर्ता भएकी शर्मीला पराजुली ढकालसमेत छिन् । पोखरेल अस्ट्रेलिया र पराजुली स्पेनका लागि सिफारिस भएका हुन् । 

परराष्ट्र सेवाबाट सहसचिव दुर्गाबहादुर सुवेदी, घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, भरतकुमार रेग्मी र निर्मलराज काफ्ले सिफारिस भएका छन् । 

त्यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । टेलिकममा सरकारले पहिलोपटक संस्थाभन्दा बाहिरबाट प्रवन्ध निर्देशक नियुक्त गरेको हो । 

सरकारले समस्याग्रस्त सहकारीको अध्ययन र व्यवस्थापनका लागि समिति गठन गरेको छ । प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहालको अध्यक्षतामा दुई सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा केशव आचार्य नियुक्त भएका छन । 

मन्त्रिपरिषदले हेटौँडा सिमेन्टको महाप्रबन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ । खुला प्रतिस्पर्धाबाट पाण्डेको नियुक्ति भएको हो ।

यस्तै गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा चेतन धमला नियुक्त भएका छन् ।

Leave A Reply

Your email address will not be published.