अध्यक्ष बने पछि कुल आचार्यको सक्रियता, भेटे प्रधानमन्त्री

0

२०२१-२३ कार्यकालका लागि गैरआवासीय नेपाली संघ आइसीसीको कार्यकारी अध्यक्षता सम्हाले लगत्तै कुल आचार्यले आफ्नो सक्रियता बढाएका छन्।

अर्की अध्यक्ष रबिना थापासंगै मंगलबार बालुवाटारमा प्रधानमंत्री शेर बहादुर देउवालाइ भेटेर उनले ज्ञापन पत्र बुझाएका थिए । उनले उक्त भेटमा संसदको आगामी बैठकबाट गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयनमा ल्याउन आग्रह गरे। “प्रधानमंत्रीज्यूले सकारात्मक अभिव्यक्ति दिनु भयो,” आचार्यले भने ।

आचार्यले मंगलबार नै अर्थमंत्री जनार्दन शर्मासंग भेट गरी ज्ञापन पत्र बुझाए। उनले एनआरएनहरुका लागि डलर खाता खोल्न नेपाल सरकारले गरेको सहजीकरणका लागि धन्यवाद दिए। आचार्यले संघले संसारभरिका एनआरएनहरुलाई नेपालका बैंकहरुमा डलर खाता खोल्न आह्वान गरेको भन्दै केही व्यावहारिक समस्या हटाउन सहयोग गरि दिन आग्रह गरेका थिए। उक्त अवसरमा अर्थमंत्री शर्माले डलर खाता खोल्न केही व्यावहारिक समस्या भए तिनलाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए।

आचार्यले प्रधानमंत्री देउवा, अर्थ मंत्री शर्मा, मुख्य सचिव शंकर बैरागी तथा अर्थ सचिव मधु मरासिनीसंगको भेटघाटमा संघले अगाडी बढाएको १० अर्ब रुपियाँको ‘एनआरएनए नेपाल विकास कोष’ को कार्यान्वयनमा रहेका व्यावहारिक समस्या समाधान गर्न आग्रह गरेका थिए । “उहाँहरुले कुलजी अगाडी बढ्नोस, यी समस्या सुल्झाउन सरकारले हरसम्भव सहयोग गर्नेछ भन्नु भयो,” आचार्यले भने। ती भेटघाटमा एनआरएनए नेपाल विकास कोषका सीइओ अनल राज भट्टराई पनि सहभागी थिए।

मंगलबार नै आचार्यले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुसंग बैठक गरे । कम्तीमा १०० कोठा सहितको सुविधा सम्पन्न श्रद्धाश्रम (वृद्धाश्रम) निर्माण गर्न कोषले जग्गा उपलब्ध गराउने आश्वासन दिएको छ। झन्डै १५ देखि १७ करोडमा निर्माण गरिने उक्त परियोजनाका लागि आचार्य स्वयमले रु एक करोड प्रदान गर्ने घोषणा गरेका छन्। गत साता बसेको नवनिर्वाचित कार्य समितिको पहिलो बैठकमा श्रद्धाश्रम निर्माणका लागि साढे तीन करोड रुपियां भन्दा बढी रकमको प्रतिवद्धता व्यक्त गरिएको थियो।

अध्यक्ष आचार्य मंगलबार राती कर्मथलो बेलायत प्रस्थान गरेका छन्। उनले छिट्टै नेपाल फर्केर यी कामहरु अगाडी बढाउने जनाएका छन्।

Leave A Reply

Your email address will not be published.