सीमाङ्कन थाती राखेर संविधान घोषणा गर्नुपर्ने : गगन थापा

0

रामेछाप, १८ भदौ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सीमाङ्कनमा देखिएको विवाद टुङ्ग्याउन सात प्रदेशको सीमाङ्कनको कामलाई अहिले थाती राखेर भए पनि संविधान घोषणा गर्नुपर्ने बताउनु भएको छ । संसद्को कृषि समितिका सभापतिसमेत रहनुभएका थापाले सीमाङ्कनको कामलाई बाँकी राखेर संविधान घोषणा गरेर सीमाङ्कनका लागि आयोग बनाउनुपर्ने उहाँले प्रस्ताव गर्नुभएको हो । नेपाली काँग्रेस बेथान गाउँ कार्यसमितिले बिहीबार रामेछापको बेथानमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले संविधानसभाले संविधान जारी गरी तीन महिनाभित्र प्रदेशको सीमाङ्कन टुङ्ग्याएर संविधानसभा विघटन गर्नुपर्ने उहाँले बताउनु गर्नुभयो । एक अर्को प्रसङ्गमा उहाँले नेपालमा कसैले चाहेर पनि जातीय राज्य नबन्ने दाबी गर्नुभयो ।
नेपालको जातीय विविधताका कारण जातीय राज्य सम्भव नहुने उहाँको तर्क छ । यो संविधानसभाले पनि संविधान जारी गर्न नसके नेपालमा लोकतन्त्र र गणतन्त्र कसैले जोगाउन नसक्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछापका सभापति रामचन्द्र खड्काले अबको अभियान गरिबी, पछौटेपन र अशिक्षाको विरुद्ध हुनुपर्ने बताउनुभयो । यसैगरी, गगन थापाकै समन्वयमा निर्माण गरिएको बेथानको कुशेश्वर उच्च माविको नवनिर्मित भूकम्प प्रतिरोधात्मक भवनको साँचोसमेत सोही अवसरमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.