प्रधानमन्त्री देउवा वाराणसीमा धार्मिक अनुष्ठानमा सहभागी

0

काठमाडौं : तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवा धार्मिक अनुष्ठानमा पनि सहभागी भएका छन् । आइतबार देउवा भारतको धार्मिक नगरी बाराणसी पुगेर विश्वनाथ मन्दिरमा पुजाअर्चना साथै पशुपतिनाथ मन्दिर र कालभैरवको दर्शन गरेका हुन् ।

भारत भ्रमणको अन्तिम दिन आइतबार विहानै प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी पुगे । प्रधानमन्त्री देउवासहितको टोलीले काशी विश्वनाथ मन्दिर, पशुपतिनाथ मन्दिर र कालभैरवको दर्शन गरेका थिए । मन्दिरमा उनलाई पुजारीले स्वागत गरेका थिए । 

त्यसअघि वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

उनी नयाँ दिल्लीबाट एयर इण्डियाको विशेष विमानमार्फत बनारस पुगेका थिए । विमानस्थलबाट विश्वनाथ मन्दिर देउवा गाडी मार्फत गएका थिए । काशीनाथ विश्वनाथ मन्दिरमा प्रधानमन्त्री देउवाको स्वागतका लागि सडकको दुबै किनारामा भारतीय नागरिकहरुले हातमा नेपाल र भारतको झण्डा फहराएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना क्रममा देउवा पत्नी डा.आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा.नारायण खड्का , कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री महेन्द्र राय यादव , उर्जामन्त्री पम्फा भुसाल र भारतीय राजदूत विनयमोहन क्वात्रा लगायतको उपस्थिति थियो । साथमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी थिए ।

काशीमा देउवाले नेपाली मन्दिरसँग सम्बद्ध वृद्धाश्रमको जीर्णोद्धारको शिलान्यास गरेका छन् । तीनदिने भारत भ्रमणका लागि प्रधानमन्त्री देउवाले गत शुक्रबार दिउँसो भारत गएका थिए ।

Leave A Reply

Your email address will not be published.