स्थानीय निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन गर्ने कांग्रेसको निर्णय

0

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने निर्णय गरेको छ । 

सानेपास्थित केन्द्रीय कार्यालयमा चार दिनदेखि जारी केन्द्रीय समितिको बैठकले चुनावी तालमेलको पक्षमा निर्णय गरेको हो । 

मंगलबार केन्द्रीय समिति बैठकको निर्णय सार्वाजनिक गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आवश्यकता र अवस्था हेरेर स्थानीय निर्वाचनमा तालमेल गरिने बताए ।

बैठकले उपसभापति पूर्णबहादुर खड्कको संयोजकत्वमा निर्वाचन परिचालन समिति र डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । 

संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा कांग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धिको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गरेको कांग्रेसको ठहर छ । 

संयमित र समन्वयकारी राजनीतिक व्यवहार तथा पार्टीले नेतृत्व गरिरहेको स्थानीय तहमा जनमुखी र प्रभावकारी कामका कारण आसन्न स्थानीय चुनावमा बहुसंख्यक स्थानीय तहमा बलियो आधार र परिस्थिति निर्माण भइसकेको समेत बैठकले निष्कर्ष निकालेको छ ।

Leave A Reply

Your email address will not be published.