गैर आवासीय नेपालकाे सम्पत्तिकाे सुरक्षा नागरिकताले गर्छ : कुल आचार्य

0

गैर आवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैर आवासीय नेपाली  नागरिकता प्राप्त भए मात्र नेपालीको सम्पत्ती सुरक्षित हुने भएकाले यसको चाँडो व्यवस्था हुनुपर्ने बताएका छन्  ।

गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशनको दोश्रो दिन गैर आवासीय नेपाली नागरिकता विषयमा आयोजित सत्रलाई सम्बोधन गर्दै आचार्यले सबै नेपालीको चिन्ता र चासोको विषय नागरिकता रहेकाले  संघीय संसदको आगामी सत्रबाट पारित गर्न पहल गर्नुपर्ने बताए । उनले भने,‘विदेशमा रहेका नेपालीहरुलाई सरकारले बोलाइ बोलाइ नागरिकता दिनुपर्ने हो । नागरिकता भन्दै दौडनु नपर्ने हो तर हामी विगत लामो समयदेखि नागरिकतामै अल्झिरहेका छौं । यसमा हाम्रो सामूहिक बल पुग्न सकेको छैन । यसतर्फ सबै एक भएर अघि बढ्नुपर्छ ।’

सल्लाहकार आचार्यले नागरिकता प्राप्त भइसकेपछि राहदानीका सवालमा पनि सहजीकरण गर्नुपर्ने औंल्याउँदै विदेशमा रहेका नयाँ पुस्तालाई नेपालसँग जोड्न नागरिकता र लगानीको अवसर प्रदान गर्नुपर्ने बताए ।

विषयगत छलफलका क्रममा बोल्दै अभियन्ताहरुले नागरिकताको सवालमा व्यापक छलफल र ऐन संशोधन गर्दै अधिकार सुनिश्चित हुनुपर्ने बताए । उनीहरुले नागरिकता सम्बन्धी ऐन पास हुँदैमा गैर आवासीय नेपालीहरुको माग सम्बोधन नहुने पनि बताए ।

एनआरएनए उपाध्यक्ष बद्री केसीले राज्य व्यवस्था समितिबाट पारित भएर संसदबाट पारित हुन बाँकी रहेको नागरिकता ऐनका सवालमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले गैर आवसीय ऐन र नागरिकता सम्बन्धी ऐन सँगै आउने भएकाले चाँडै पारित हुनुपर्ने बताउँदै संविधानको धारा २९१ ले शंका उत्पन्न गराएकाले संविधान नै संशोधन गर्नु पर्ने बताए ।

उपाध्यक्ष रवीना थापाले विभिन्न भिषामा विदेशीने नेपालीहरुका सवालमा ऐनले धेरै कुरामा सम्बोधन गर्नुपर्ने औंल्याइन । नागरिकता प्रदान गर्ने सवालमा महिला, पुरुष र गोर्खाहरुको  फरक फरक व्यवस्था रहेकाले विभेदकारी व्यवस्था नराख्न उनले माग राखिन ।  

एनआरएनए महासचिब डा. हेमराज शर्माले नागरिकता सम्बन्धी ऐनले भन्दा पनि गैर आवासीय नेपाली सम्बन्धी ऐनले मात्र अधिकारको व्याख्या गर्ने भएकाले संसदमा टेबुल भएको विषयमा व्यापक छलफल गर्नुपर्ने बताए । ऐनमा संशोधन  गर्नुपर्ने विषयमा छलफल हुनुपर्ने बताउँदै उनले ऐनमा अझै केही विषय छुटेकाले ति विषयहरु सम्बोधन हुनुपर्ने माग राखे ।

विदेशमा ६ किसिमका नेपाली रहेकाले गैर आवासीय नागरिकताले मात्र सबै प्रवासी नेपालीहरुलाई सम्बोधन नगर्ने उनको भनाइ थियो । उनले नेपालको संविधानले राजनीतिक अधिकारसहित सबैखाले अधिकार प्रदान गरिने भनिए पनि कार्यान्वयन नभएकोमा दुःख ब्यक्त गरे ।

एनआरएन अमेरिकाका पूर्वअध्यक्ष डा.केशव पौडेलले नागरिकता नेपाल सरकारसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले गत  सात बर्षमा अभियन्ताहरुले गरेका प्रयासहरु पर्याप्त नभएको र आगामी दिनमा प्राथमिकता दिनुपर्ने बनाए ।

गैरआवासीय नेपाली संघको  नागरिकता सम्बन्धी सहजकर्ता  सरोज दाहालले नेपालको संविधानले ५ किसिमका नागरिकता प्रदान गर्ने व्यवस्था गरेको भए पनि कार्यान्वयनमा नआउनु दुःखद रहेको बताए । ‘ऐनमा भएको नागरिकताको विषय मात्र होइन विभिन्न दलहरुले आ–आफ्नै मुद्दाहरु उठाएकाले समस्या भएको देखिन्छ । यसमा हामीले काम गर्नै सकेका छैनौं । त्यसैले यसमा विश्वभरका अभियन्ताहरु एकजुट भएर लाग्नुपर्छ,” उनले भने।

Leave A Reply

Your email address will not be published.