नेपाल-चीन वार्ता हुँदै : करिब एक दर्जन सम्झौता र सहमतिमा हस्ताक्षर हुने

0

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी सहित चीन–नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ता शनिबार हुँदैछ ।

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दुई देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा चीन–नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ता हुन लागेको हो ।

प्रतिनिधिमण्डलको वार्तापछि दुई देशबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । सो क्रममा चीनले नेपालमा दिने वार्षिक अनुदान सहायता करिब १५ अर्ब रुपैयाँ पुर्याउने सम्झौतमा हस्ताक्षर हुँदैछ ।

सम्झौता पत्रमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र एक चिनियाँ उपमन्त्री तहका अधिकारीबीच हस्ताक्षर हुनेछ ।

चीनको अनुदान सहयोग नेपालको पूर्वाधार विकासका परियोजनामा खर्च हुने बताइएको छ । हाल चीनले नेपाललाई बार्षिक १३ अर्ब अनुदान दिदै आएको छ । भ्रमणका क्रममा दश वटा सहमति सम्झौता हस्ताक्षर गर्ने तयारी छ ।

राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा घोषणा भएको ५६ अर्ब अनुदान सहयोग कार्यान्वयनको विषय पनि यो भ्रमणमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनले बेल्ट एन्ड रोड अवधारणा बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी छाता सम्झौतालाई अन्तिम रुप दिने विषयमा पनि दुई देशबीच छलफल हुनेछ ।

केरुङ–रसुवागढी सीमापार रेलको विस्तृत सम्भाव्यता, रातामाटे—केरुङ विद्युतीय प्रशारण लाइन निर्माणको सम्भाव्यता, कोरला नाका खुल्ला, भरतपुर क्यान्सर अस्पतालमा सहयोग सम्बन्धी समझदारी समेत भ्रमणमा हुनेछ ।

नेपालबाट चीनतर्फ विकासे घाँस निर्यात, नेपालमा अड्केका विद्यार्थी चीन फर्काउने समझदारी पनि हुँदैछ ।

Leave A Reply

Your email address will not be published.