स्थानीय निर्वाचन : आयोगद्वारा अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि स्वीकृत

0

काठमाडौं : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ ।

निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ समेत स्वीकृत भइ कार्यान्वयनमा आएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम, त्रुटि सच्याउने, दोहोरो परेको हटाउने र मृत्यु भएकाको विवरण हटाउने काम भइरहेको पनि आयोगले जनाएको छ ।

आयोगले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र खटन–पटनका लागि गृहकार्य भइरहेको जनाएको छ ।

निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन विभिन्न संयन्त्रमार्फत अनुगमन गर्ने र निर्वाचन आचारसंहिता कानुनी मात्र नभइ नैतिक बन्धन पनि भएकाले त्यसप्रति गम्भीर भइ चुनावलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने काममा सहयोग गर्न आयोगले सबैसँग आग्रह पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.