द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने सरकारको निर्णय

0

काठमाडौं : सरकारले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रस्तावमा द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकहरुलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो । 

उमेर हदका कारण अवकास हुने तथा पुनर्बहाली हुन नसकिने अवस्थाका शिक्षकहरुमध्ये १५ वर्ष वा सोभन्दा बढी अटुटरुपमा सेवा गरेको भएमा जति अवधि जोड्दा निवृत्तभरण पाउनेछन्, उनीहरुको सेवा अवधिमा निवृत्तिभरण दिने प्रयोजनका लागिमात्र त्यति अवधि कोषमा बढीमा ५ वर्ष जोडी निवृत्तिभरण उपलब्ध गराउने निर्णय गरेको छ ।

दुई सय ३३ जना द्वन्द्वपीडित शिक्षकको पुनर्बहाली भएको छ । नियुक्ति दिनुपर्ने १८ जना, सेवा निवृत्तिभरण तथा अन्य सुविधा पाउने ४१ जना र अस्थायीतर्फका २८४ जनालाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय सरकारले गरेको हो ।

तीन वर्षभन्दा कम सेवा अवधि काम गरेकालाई एक लाख, एक लाख २५ हजार र एक लाख ५० हजार, ३ देखि ५ वर्षभन्दा कम सेवा अवधि गरेकालाई १ लाख ७५ हजार, २ लाख र २ लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै ५ देखि १० वर्षभन्दा कम अवधि सेवा गरेकालाई २ लाख ५० हजार, २ लाख ७५ हजार र ३ लाख रुपैँया र १० देखि १५ वर्ष कम सेवा अवधि काम गरेकालाई ३ लाख ५० हजार, ४ लाख र ४ लाख ५० हजार, १५ वर्ष र सोभन्दा बढी सेवा अवधि गरेकालाई ५ लाख, ६ लाख, ७ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.