सत्ता गठबन्धन बचाउन प्रयासरत छौं : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन बचाउन प्रयासरत रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भएको छलफलपछि दाहालले सत्ता गठबन्धन बचाउने प्रयासका लागि छलफल भइरहेको जानकारी दिए ।

एमसीसीलाई निकास दिने विषयमा समेत प्रयत्न भैरहेको दाहालले बताए । सो भेटवार्तामा जनता समाजवादी पार्टी (जसपा)का नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ पनि सहभागी भएका थिए ।

अध्यक्ष दाहालले बिहीबार साँझ बस्ने सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीबारे निकास निकाल्ने पनि बताए ।

पछिल्लो समय एमसीसीका विषयमा सहमति हुन नसक्दा सत्ता गठबन्धन नै संकटमा परेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमसीसी जसरी पनि संसदमा टेबुल गर्ने अडानमा रहेका छन् ।

तर गठबन्धनमा आवद्ध दल माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी यथास्थितिमा पारित गर्न नहुने पक्षमा रहेपछि गठबन्धन नै टुट्ने संकेत देखिएको छ ।

Leave A Reply

Your email address will not be published.