प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै, अर्को बैठक फागुन ६ गते बस्ने

0

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा नारावाजीसहित विरोध जनाएका छन् । 

संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बैठक शुरु हुनसाथ एमालेका सांसदहरुले उठेर विरोध गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए । सो क्रममा उनीहरुले एमालेले कारबाही गरेका सांसदहरुलाई सदनमा प्रवेश गराएको भन्दै नारावाजी गरेका थिए । 

संसदीय मर्यादा कायम गर भन्दै उनीहरुले सभामुखको भूमिकाको विरोध गरेका थिए । 

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । सभामुख सापकोटाले संसद्मा विचाराधीन विषयहरु रहेकाले छलफलका लागि सदन सञ्चालनमा व्यवधान नगर्न पनि आग्रह गरे ।

सभामुखको आग्रहपछि पनि एमाले सांसदहरुले विरोध कायमै राखेपछि कार्यसूची अघि बढाइएको थियो । 

बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री दिलेन्द्र बडुले थारु आयोगको तेश्रो बार्षिक प्रतिवेदन पेश गरेका थिए । 

यस्तै बैठकले कांग्रेसका संविधानसभा सदस्य जगत बहादुर ताजपुरीया, २०५९ सालमा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य लक्ष्मीदास मानन्धर र एमालेकै तर्फबाट संविधानसभा सदस्य डाक्टर दुमन सिंहथापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । 

बैठकमा एमसीसी अघि बढाउने सरकारको तयारी भएपनि अन्तिम समयमा रोकिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते शुक्रबार बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.