कमल थापा बने राप्रपा नेपालको अध्यक्ष, पुरानै घरमा फर्किएको प्रतिक्रिया

0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएको घोषणा गरेका कमल थापा फेरि राप्रपा नेपालको अध्यक्ष बनेका छन् । निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको राप्रपा नेपालमा उनी फेरि अध्यक्ष बनेका हुन् ।

यसअघि थापाले नयाँ पार्टी बनाउने तयारी शुरु गरेका थिए । यसका लागि उनले नयाँ पार्टीको नाम राष्ट्रिय एकता पार्टी राख्ने समेत निर्णय गरिसकेका थिए । तर, अब उनले पुरानै राप्रपा नेपाल ब्यूँताउने भएका छन् ।

राप्रपा नेपालका अध्यक्ष लाक्पा शेर्पाले राजीनामा दिएपछि कमल थापाको अध्यक्षमा राप्रपा नेपालको पुनर्गठन गरिएको छ ।

राप्रपा नेपाल कमल थापाले नै स्थापना गरेको पार्टी हो । २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । त्यसपछि राप्रपा नेपालको नाममा निर्वाचन आयोगमा नयाँ पार्टी गठन भएको थियो ।

शेर्पाले आफूले पार्टीको अध्यक्षबाट राजीनामा दिएर थापालाई अध्यक्ष बनाइएको जानकारी निर्वाचन आयोगलाई गराएको बताइएको छ ।

राप्रपा नेपालमा आबद्ध भएसँगै अध्यक्ष हुनुभएका कमल थापाले केही समयको अलमलपछि आफू फेरि पार्टीमा फर्किएको बताएका छन् ।

थापाले आइतबार विज्ञप्ति निकालेर देशको धरातलीय यथार्थ एवम् सहयोगी तथा शुभचिन्तक साथीको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको र केही समयको अलमलपछि फेरि आफूहरू आफ्नो घर फर्किएको बताएका हुन् ।

Leave A Reply

Your email address will not be published.