निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन बन्द

0

काठमाडौं : निर्वाचन आयोगले मंगलबारदेखि मतदाता नामावली संकलन बन्द गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते निर्णय गरेसँगै नामावली सकंलन बन्द गरेको हो । 

निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार चुनावको मिति घोषणा भइसकेपछि चुनावको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन । 

आयोगले चुनावलाई लक्षित गरी गएको मंसिर १७ गतेदेखि १९ गतेसम्म गाउँपालिका र नगरपालिकास्तरमै नामावली संकलन गरेको थियो । 

७७ वटै जिल्ला निर्वाचन कार्यालयलाई सोमबारसम्म संकलित मतदाता विवरण तीन दिनभित्र पठाउन आयोगले निर्देशन दिइसकेको छ । 

हालसम्म देशभर १ करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ । 

निर्वाचन कार्यतालिका एक–दुई दिनमा सार्वजनिक गर्ने र सोही बमोजिम कार्य अगाडि बढाउने जानकारी आयोगले दिएको छ । 

आयोगले आशन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया शुरु गरेको छ । 

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल २०७९ जेठ ५ गते सकिँदै छ ।

Leave A Reply

Your email address will not be published.