जोरबिजोरले भीड बढाएको गुनासो, प्रावधान फेर्ने गृहकार्य

0

काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली जारी छ । 

सवारीसाधनको अन्तिम नम्बरका आधारमा जोर गते जोर र बिजोर गते बिजोर सवारी सञ्चालन भइरहेका छन् । 

सबै किसिमका कार्यालयहरू सञ्चालन भइरहेकाले महामारी रोकथाम गर्न लागु गरिएको जोरबिजोरले सार्वजनिक सवारीमा अत्यधिक भिडभाड बढाएको छ । 

उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरूमा जोरबिजोरले भिडभाड बढाएको गुनासाहरू बढ्दै गएको छ । प्रशासनहरूले जोरबिजोर प्रणालीले भिडभाड बढाएको स्वीकार पनि गरेका छन् । 

यस विषयमा अनुगमन र समीक्षा गरिरहेको प्रशासन कार्यालयहरुले जनाएका छन् । प्रावधान फेरबदल गरी नागरिकलाई सहजीकरण गर्नेतर्फ प्रशासनका अधिकारीहरूबीच छलफल भइरहेको छ । 

साथै हाल लागू गरिएको जोर बिजोर प्रणाली लामो समय सम्मका लागि नभएको प्रमुख जिल्ला अधिकारीहरु बताउँछन् । ठूलो जनसंख्यामा संक्रमण फैलने गरी भिडभाड हुन नदिन सचेत रहेको प्रजिअहरूको भनाइ छ । 

आवश्यक कामका लागि मात्रै बाहिर निस्कने हो भने संक्रमण नियन्त्रण गर्न सकिने प्रमुख जिल्ला अधिकारीहरूको धारणा छ । करिब दुई सातादेखि देशभरका शैक्षिक संस्था, सिनेमा हल, जिमखानालगायत भिडभाड हुने क्षेत्रहरू ठप्प छन् । 

सबै किसिमका कार्यालयहरू खुलिरहेको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे निष्कर्षमा पुग्ने प्रमुख जिल्ला अधिकारीहरूको तयारी छ । 

गृह मन्त्रालयले पनि उपत्यकामा सञ्चालित सवारी साधनमा जोर–विजोर प्रणाली लागू गर्दा भीडभाड बढेको नागरिकको गुनासो आउन थालेको जनाएको छ । 

यस्तै गुनासो आइरहे केही दिनमा निर्णय परिमार्जन हुनसक्ने गृहमन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.