भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको शुभकामना

0

काठमाडौं : भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई तथा शुभकामना सन्देश दिएका छन् ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले शुभकामना सन्देश पठाउँदै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र भारतीय जनताको प्रगति र समृद्धिको कामना गरेकी छन् ।

यसैगरी प्रधानमन्त्री देउवाले पनि समकक्षी नरेन्द्र मोदीको सुस्वास्थ्यको कामना गर्दै भारतीय जनताको प्रगति र समृद्धिको कामना गरेका छन् ।

उनले सामाजिक आर्थिक विकासमा भारतले उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै प्रशंसा पनि गरेका छन् । उनले आगामी दिनमा नेपाल भारत सम्बन्ध थप मजबुत हुँदै जाने विश्वाससमेत व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय सममकक्षी डा. जयशंकर र भारतीय जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले दुई देशबीच न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरेका छन् ।

भारतले बुधबार ७३ औं गणतन्त्र दिवस मनाउँदै छ । वृटिश साम्राज्यबाट मुक्त भएर संविधान जारी गरिएको दिनको सम्झनामा भारतले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ ।

भारतले सन् १९५० को जनवरी २६ तारिख अर्थात् यसै दिन संविधान जारी गरेको थियो ।

Leave A Reply

Your email address will not be published.