इलाम, १५ भदौ । मानव बेचबिखनविरुद्धको नवौँ राष्ट्रिय दिवसको अवसर पारेर सोमबारदेखि इलाममा मानव बेचबिखनविरुद्ध साताव्यापी सचेतना अभियान सुरु गरिएको छ । माइती नेपाल पशुपतिनगर, मानव बेचबिखनविरुद्धको जिल्ला कार्यदल, महिला बालबालिका कार्यालय र प्रहरीले सीमावर्ती पशुपतिनगरबाट अभियान सुरु गरेको हो ।
अभियानअन्तर्गत पूर्वी पशुपतिनगरको फाटक, छब्बिसे, हिलेजस्ता मुख्य नाकामा पर्चा पम्प्लेटिङ, चेलीबेटी बेचबिखनविरुद्ध घरदैलो अभियान सुरु गरिएको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले जानकारी दिनुभयो ।
सीमावर्ती इरौँटार, जिर्मले, जोगमाई, माबु, प्याङ, नयाँबजार, गोर्खे, मानेभञ्ज्याङ, पशुपतिनगर, श्रीअन्तु, समालबुङ गाविसमध्ये दलालले पशुपतिनगरलाई मानव तस्करीको लागि मुख्य नाकाको रुपमा प्रयोग गर्ने गरेकाले सचेतना अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।
भारतसँग जोडिएका पूर्वका १० गाविस मानव तस्करीका लागि दलालले उपयुक्त नाकाको रुपमा लिने गरेका छन् । दलालले नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, तेह्रथुम, मोरङ, झापा, पाँचथर, इलामलगायत विभिन्न जिल्लाबाट युवतीलाई भारतको दार्जिलिङ, सिक्किममा जागिर लगाइदिने प्रलोभन देखाएर कोठीमा पु¥याएर बिक्री गर्ने गर्छन् ।
दलालले कसरी ल्याउँछ, सीमामा कस्तो क्रियाकलाप गर्छन् भन्नेबारे नागरिकलाई जानकारी गराउन र उनीहरुबाट कसरी बच्ने भन्नेबारेमा साताव्यापी अभियानमा प्रशिक्षित गराइन्छ, ढकालले भन्नुभयो ।
दिवसको अवसर पारेर सञ्चालन गरिएको अभियानअन्तर्गत जिर्मलेमा भदौ १७ गते सचेतना गोष्ठी गरिने माइती नेपालले जनाएको छ । सचेतना अभियानका लागि माइती नेपालले सीमावर्ती गाविसमा महिलाको सक्रियतामा गठित माइती नेपाल सञ्जाल समूहलाई सक्रिय बनाई सचेतनामूलक कार्यक्रम गरिने बताइएको छ ।
सीमावर्ती क्षेत्रबाट हुने मानव तस्करी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरले समेत माइती नेपाललाई सहयोग गरिरहेको र राष्ट्रिय दिवसको अवसरमा सीमा क्षेत्रमा प्रहरीको विशेष गस्ती सञ्चालन गरिने जानकारी प्रहरी निरीक्षक पदम थपलियाले दिनुभयो ।