राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबण्डा : कसलाई कति सिट ?

0

काठमाडौं : राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दलहरुले सिट बाँडफाँड गरेका छन् । 

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खालि रहेका १९ सिट बाँडफाँड गरी उम्मेदवारी दिने निर्णय गरेका हुन् । 

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ५ दलीय गठबन्धन बैठकले कांग्रेसलाई ६ सिट, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई ५-५ सिट, जनता समाजवादी पार्टी, नेपाललाई २ सिट र राष्ट्रिय जनमोर्चालाई १ सिट दिने निर्णय गरिएको कांग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

उनका अनुसार प्रदेश १ मा खालि रहेका ३ सिटमा महिलातर्फ एकीकृत समाजवादी, पुरुषतर्फ नेपाली कांग्रेस र अल्पसंख्यकको सिट जसपालाई दिइएको छ । 

त्यस्तै प्रदेश २ मा महिलातर्फ माओवादी केन्द्र र अन्यमा जसपालाई सिट दिइएको छ । वागमती प्रदेशमा अन्यमा नेपाली कांग्रेस, महिलामा नेकपा एकीकृत समाजवादीले सिट पाएका छन् भने गण्डकी प्रदेशमा महिलामा कांग्रेस, अन्य तथा दलितका लागि माओवादी केन्द्रले सिट पाएको छ । 

त्यस्तै लुम्बिनी प्रदेशमा पुरुषतर्फ खुल्ला नेपाली कांग्रेस, महिलामा नेकपा एकीकृत समाजवादी, दलितमा राष्ट्रिय जनमोर्चालाई सिट दिइएको छ । 

कर्णाली प्रदेशमा महिला नेपाली कांग्रेस, अपाङ्ग सिटमा माओवादी केन्द्र, खुल्लामा नेकपा एकीकृत समाजवादीलाई सिट दिइएको छ भने सुदूरपश्चिम प्रदेशमा खुल्लामा नेपाली काँग्रेस, दलितमा माओवादी केन्द्र, महिलामा नेकपा एकीकृत समाजवादीलाई सिट दिने निर्णय भएको पनि सञ्चारमन्त्री कार्कीले बताए ।

Leave A Reply

Your email address will not be published.