माओवादीको बन्दसत्रमा अध्यक्ष दाहालद्वारा राजनीतिक प्रतिवेदन पेश

0

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गतको बन्द सत्रमा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी बन्दसत्रमा दाहालले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

बन्द सत्रमा राजनीतिक र विधान प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह बनाउने तयारी गरिएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशसहित केन्द्रीय समिति, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, विभिन्न विभागका सदस्यसमेत रहने गरी समूह विभाजन गर्ने तयारी छ ।

प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । बन्दसत्रमा कूल एक हजार ६ सय ३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।

बन्दसत्रमा ७ सदस्यीय अध्यक्ष मण्डल समेत गठन गरिएको छ । अध्यक्षमण्डलमा नेताहरु कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जन छन् ।

नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका नामलाई अनुमोदन गरिएको छ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो ।

राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.